स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?



काठमाडाैँ । स्थानीय तह निर्वाचन सकिएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम लगभग आइसकेको छ । बाजुराको बूढीगङ्गा नगरपालिकामा मतदान हुन बाँकी छ भने उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना जारी छ ।

नेपालको संविधान २०७२ जारी भएपछिको यो दोस्रो स्थानीय तहको निर्वाचनमा प्राप्त मतपरिणामका आधारमा जनतामा खासगरी राष्ट्रिय राजनीतिक दलको वर्तमान अवस्थाको मूल्याङ्कन भइरहेको छ । करिब वर्ष दिनअघि मुलुकको सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टीमा आएको फुटपछि बनेको पाँच दलीय गठबन्धनको सरकार स्थानीय तहको निर्वाचनमा पनि सहकार्यका साथ गएको तथा संसद्को ठूलो दल नेकपा (एमाले)ले एक्लै निर्वाचन जित्ने जिकिरका बीच सम्पन्न निर्वाचन परिणाम बढी चर्चित बन्यो ।


साथै नेपालको सङ्घीय र प्रादेशिक संसद्को समयावधि पनि आगामी मङ्सिरसम्म रहेको र अबको बढीमा सात महिनामा संसद्कै निर्वाचन हुने भएकाले पनिस्थानीय तह निर्वाचनको प्राप्त मत परिणामले जोड घटाउको चर्चा चुलिएको हो । राष्ट्रिय राजनीतिक दलभन्दा बाहिरबाट काठमाडौँ महानगरलगायत कतिपय ठूला नगरमा स्वतन्त्र उम्मेदवारको उदयले पनि यस निर्वाचनको परिणाम रोचक बनेको छ ।

यस निर्वाचनमा मतदाताले युवा र अघिल्लो निर्वाचनको कामको मूल्याङ्न गरी विशेषतः दुई मान्यता स्थापित गर्न खोजेको देखियो । मुलुकको राजधानी काठमाडौँमा अवस्थित नेपालको सबैभन्दा पुरानो र ठूलो काठमाडौँ महानगरपालिकामा पहिलो पटक मतदाताले राष्ट्रिय राजनीतिक दलभन्दा बाहिरबाट स्वतन्त्र हैसियतका युवा बालेन्द्र साहलाई विजयी गराएका छन् । यो मतदाताले स्थापित गर्न खोजेको युवा नेतृत्व मात्र नभएर देशका ठूला राजनीतिक दलले विगतका राम्रो नेतृत्व महानगरमा दिन नसकेका परिणामको नतिजा भएको विश्लेषण गरिएको छ तर काठमाडौँ महानगरसँगै जोडिएको ललितपुर महानगरपालिकामा भने मतदाताले अघिल्लो कार्यकालका तथा त्योभन्दा पनि ६५ वर्षका चिरिबाबु महर्जनलाई चुनेका छन् ।

साथै राजधानी बाहिर हेर्दा धरान र धनगढी उपमहानगरपालिकामा पनि मतदाताले स्थापित दल बाहिरबाटै युवा नेतृत्वको चयन गरेका छन् । यसरी सम्पन्न स्थानीय निर्वाचनमा मतदाताले दलभन्दा पनि कामलाई प्राथमिकता दिएको सन्देशका रुपमा लिन सकिन्छ ।हालसम्म प्राप्त मतपरिणामअनुसार कांग्रेस पहिलो स्थानमा छ । कांग्रेस सबैभन्दा बढी प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र वडा सदस्यमा विजयी भएको छ । उक्त दलका तर्फबाट १३ हजार ७३७ जनप्रतिनिधि निर्वाचित भएका छन् ।