सर्लाहीको धनकौलस्थित मतदान केन्द्रमा सेना परिचालन



सर्लाही । दलका कार्यकर्ताहरुबीच पटक पटक भएको झडपका कारण रोकिएको सर्लाहीको धनकौल गाउँपालिकाको एक मतदान केन्द्रमा पुन: मतदान सुरु गरिएको छ । मतदान सफल तरिकाले सम्पन्न गराउनका लागि नेपाली सेनालाई गरिएकाे छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले धनकौल गाउँपालिका–२ पशु सेवा केन्द्र मतदान स्थलमा नेपाली सेनालाई पहिलो घेरामा राखेर दिउँसो ३ बजेबाट पुन: मतदान गराइएको जानकारी दिए । झण्डै ७ घण्टा अवरुद्ध बनेको मतदान साँझ ५ बजेसम्म चल्ने उनले बताए । 


त्यहाँ मतदान सुरु भएको केही छिनमै त्रिपक्षीय झडप भएको थियो । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच विवाद तथा झडप हुन थालेपछि सुरक्षाकर्मीले बल प्रयोग गरेको थियो । मतदान स्थलमै झडप हुन थालेपछि प्रहरीले दर्जन भन्दा बढी हवाई फायर खोलेको थियो ।

स्थिति साम्य नभएपछि केही बेरका लागि मतदान अधिकृत सहित मतपेटिका गाउँपालिकास्थित निर्वाचन कार्यालयमा ल्याइएको थियो । त्यसपछि सो मतदान केन्द्रमा नेपाली सेनालाई अघि सारेर निर्वाचन गर्ने रणनीति अनुरुप अहिले पुन: मतदान सुरु भएको हो । सेना मतदान स्थलमा आएपछि मतदान स्थल शान्त बनेको छ ।