सम्पर्कविहीन जहाजको खोजी जारी, सेनाको एमआई–१७ हेलिकप्टर परिचालन



काठमाडाैँ । झण्डै तीन घण्टादेखि सम्पर्कविहीन रहेको तारा एयरको टुइनअटर नाइन एनएइटी जहाजको खोजी तीव्ररुपमा भइरहेको छ ।

तारा एयरलाइन्सको बेपत्ता जहाज खोज्न नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ । काठमाडौंबाट सेनाको एमआई–१७ हेलिकप्टर जोमसोमका लागि उडेको नेपाल प्रहरीका प्रवक्ता विष्णु केसीले जानकारी दिए । उनका अनुसार यसअघि पोखराबाट गएको हेलिकप्टरले खराब मौसममा कारण विमानको अवस्था पत्ता लगाउन नसकेपछि अहिले सेनाको हेलिकप्टर पठाइएको जानकारी दिए । उनका अनुसार सम्भावित क्षेत्रमा स्थलमार्गबाट पनि सुरक्षाकर्मी परिचालन गरिएको छ ।


नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्ति जारी गर्दै पोखराबाट स्थानीय समयअनुसार बिहान ९ः५५ बजे जोमसोमका लागि १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको उक्त जहाज अन्तिम पटक जोमसोम टावरसँग १०ः७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सोपश्चात् उक्त जहाज सम्पर्कविहीन भएको जनाएको छ ।

जहाजको अवस्थाका बारेमा खोजतलासका लागि फिस्टेल एयरको हेलिकप्टरलाई त्यसतर्फ पठाइएकामा प्रतिकूल मौसमका कारण उक्त हेलिकप्टर पुनःजोमसोम नै फर्किएको छ । काठमाडौँ, पोखरा तथा जोमसोम विमानस्थलमा खोज तथा उद्धारकार्यका लागि थप हेलिकप्टर तयारी अवस्थामा रहेकाले मौसम सुधार आउनासाथ हवाईमार्गबाट खोजकार्य पुनःसुरु गरिने केन्द्रले जनाएको छ ।

स्थलमार्गबाट खोजीकार्य गर्न नेपाली सेना र नेपाल प्रहरीसमेत त्यसतर्फ प्रस्थान गरिसकेको केन्द्रले जनाएको छ