वीरगञ्ज महानगरपालिकामा गठबन्धनका उम्मेदवार सिंहको सुरुआती अग्रता



वीरगञ्ज । मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार प्रमुख पदमा पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले ७५ मतसहित सुरुआती अग्रता कायम गरेका छन् ।

यसैगरी नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगी ५३ मतसहित उनीसँग प्रतिस्पर्धामा छन् भने राप्रपाका उम्मेदवार गिरिश गिरीले ११ मत प्राप्त गरे । महानगरपालिका नेतृत्वका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का बीच तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाइएको छ भने नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच अर्को समूह बनाएर निवर्तमान प्रमुख सरावगीलाई उम्मेदवार बनाइएको हो ।


यद्यपि पर्साका वीरगञ्ज महानगरपालिका बाहेकका अन्य पालिकामा राजनीतिक दलहरुबीच खासै तालमेल भएको छैन । पर्सामा वीरगञ्ज महानगरपालिकासहित अन्य तीनवटा नगरपालिका र १० वटा गाउँपालिका रहेका छन् । पर्साका अन्य पालिकाहरुमा पनि मतगणना जारी छ । जिल्लाको १४ वटै पालिकामा मतगणनाका लागि मतगणना स्थलमा आवश्यक फलामे तारजालीसहित सिसीटिभी जडान गरी व्यवस्थापन मिलाइएको छ ।

पर्सा जिल्लामा रहेका कूल १४ वटा पालिकाको विभिन्न पदको जनप्रतिनिधिका निर्वाचनका लागि कूल तीन हजार २९७ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । पर्सामा हाल एक लाख ४८ हजार २८३ महिला र एक लाख ९१ हजार ५३७ पुरुष र १६ तेस्रो लिङ्गी गरी तीन लाख ३९ हजार ८३६ जना मतदाता रहेका छन् ।