विनयी त्रिवेणीको अध्यक्ष उपाध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित



नवलपुर । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् ।

गाउँपालिकाको अध्यक्षमा घनश्याम गिरी निर्वाचित भएका हुन् । गिरीले सात हजार ६५८ मत प्राप्त गरी निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर जिसीले सात हजार ५५९ मत प्राप्त गरे । एमालेका गिरीसँग पराजित जिसी निवर्तमान गाउँपालिका अध्यक्ष हुन् ।


त्यसैगरी उपाध्यक्षमा एमालेकै भगवती बैदवार क्षेत्री निर्वाचित भएकी छन् । सात हजार ७६१ मत प्राप्त गरी उपाध्यक्षमा निर्वाचित भएकी क्षेत्रीकी प्रतिस्पर्धी कांग्रेसकी कला भुजेलले सात हजार ५८९ मत प्राप्त गरिन् ।

सातवटा वडा रहेको विनयी त्रिवेणी गाउँपालिकामा बहुमत वडाध्यक्षसहित एमालेले गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष जितेको हो । विनयी त्रिवेणी गाउँपालिकामा चारवटा वडाध्यक्ष नेकपा एमालेका उम्मेदवारले, दुईवटा वडाध्यक्ष नेपाली कांग्रेसका उम्मेदवारले र एउटा वडाध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले जितेका छन् ।