रोकिएको पोखरा महानगरको मतगणना साँझ ७ बजेदेखि सुरु



पाेखरा । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको आज मध्याह्नदेखि रोकिएको मतगणना अहिले साँझ ७ बजेदेखि पुनः सुरु भएको छ ।

मतगणनाका क्रममा वडा नं १८ को नौ मत हराएको भन्दै नेकपा (एमाले)ले पुनः मतगणनाको माग गर्दै अन्य वडाको मतगणना बहिष्कार गरेपछि दिनभर गणना रोकिएको थियो । सो वडामा एमालेका उम्मेदवार तीन मतले पराजित भएपछि एमालेले हराएको मत खोजी नहुँदासम्म चालु मतगणना सुरु हुन नसक्ने बताएपछि गणनामा बसेका एमालेका मतगणना प्रतिनिधि बाहिरिएका थिए ।


मुख्य निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले वडा नं १८ को पुनः मतगणना गरी पाऊँ भनी नेकपा (एमाले)का तर्फबाट पेश भएको निवेदन दर्ता भई कानुनी कारबाहीको क्रममा रहेको बताए । उनले दलहरूबीच रोकिएको मतगणना सुचारु गर्ने सहमति भएकाले बाँकी वडामा गणना सुरु भएको जानकारी दिए ।

एमालेका पोखरा महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेले मतगणनाको क्रममा उत्पन्न समस्याको बारेमा थप छलफल गरी निचोड निकाल्न मुख्य निर्वाचन अधिकृतको कार्यालय तयार भएकाले स्थगित मतगणना सुचारु गर्न आफ्नो पार्टी सहमत भएको बताए ।