रत्ननगरको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी



चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।

आज सम्पन्न मतगणनाअनुसार नगरप्रमुखमा कांग्रेसका प्रल्हाद सापकोटाले एमालेकी बिमला दुवाडीलाई आठ हजार ६९ मतले पछि पार्दै विजयी भएका हुन् । सापकोटाले २० हजार ७९६ मत प्राप्त गर्दा दुवाडीले १२ हजार ७२८ मत प्राप्त गरेकी थिइन् । दुवाडी २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपप्रमुखमा विजयी भएकी थिइन् । राप्रपाका हरिशरण भट्टराईले एक हजार १८५ मत प्राप्त गरे ।


यस्तै उपप्रमुखमा एमालेका यादव पाठक विजयी भएका छन् । पाठकले गठबन्धनबाट उपप्रमुखको उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी)का बद्रिनाथ घिमिरेलाई एक हजार १६० मत अन्तरले पराजित गरेका हुन् । पाठकले १३ हजार ५१४ मत प्राप्त गर्दा घिमिरेले १२ हजार ३५४ मत प्राप्त गरे । यस्तै राप्रपाका उम्मेदवार बिमला चौधरीले एक हजार ५६७ मत र स्वतन्त्रका उम्मेदवार बिरञ्जना घिमिरेले दुई हजार ३३३ मत प्राप्त गरे ।

यस पालिकामा गठबन्धनबाट १, २, ३, ४, ५, ६, ८, १०, १४ कांग्रेस, वडा नं १२ मा माओवादी केन्द्र, ७, ११, १३, १५ र १६ मा एमाले र वडा नं ९ मा स्वतन्त्र उम्मेदवारले विजयी हासिल गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस पालिकामा ३९ हजार ४११ मत खसेको थियो ।