यातायात कार्यालयमा सेवाग्राहीलाई हैरान पारेको आरोपमा १० पक्राउ



काठमाडौँ । ललितपुरको एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई काममा अवरोध गर्ने १० जना पक्राउ परेका छन्। सेवाग्राहीलाई अनावश्यक झन्झट दिएर कार्यालयको काम प्रभावित गरेको आरोपमा ललितपुर प्रहरीले १० जनालाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहका अनुसार सेवाग्राहीलाई काम गरिदिन्छु भन्दै रकम माग्ने र काममा अवरोध गर्ने १० जना पक्राउ परेका हुन् । पक्राउ परेका सबै जनालाई जिल्ला अदालत, ललितपुरबाट बुधबार सार्वजनिक अपराध अन्तर्गत म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ । 


पक्राउ पर्नेमा ललितपुर महानगरपालिका १४ को तिखिदेवल घर भएका ३४ वर्षीय सुजन बुढाथोकी, दोलखा घर भएर ललितपुर १४  बस्ने ३४ वर्षीय विवेक थापा, धनुषा घर भएर ललितपुर १० मा बस्ने ३५ वर्षीय दुनियाबहादुर राउत, काभ्रे घर भएर ललितपुर इमाडोल बस्ने २२ वर्षीया विशाल तामाङ, ललितपुर १४ बाडेगाउँ घर भएका ३९ वर्षीय सुनिल बज्राचार्य र ललितपुर पाटनढोका घर भएका ३३ वर्षीया महेश सुवेदी छन् । 

त्यसैगरी रामेछाप घर भएर ललितपुर भैंसेपाटी बस्ने २६ वर्षीय शिव दर्जी, ललितपुरको एकान्तकुनाका २६ वर्षीय राजेश सुनुवार, बारा घर भएर ललितपुर कुसुन्ती बस्ने २४ वर्षीय रोशन घिमिरे र काभ्रे घर भएर ललितपुर २१ बस्ने ३३ वर्षीय कमल लामासहित १० जना पक्राउ परेका हुन् ।