‘मुक्तिनाथ दर्शन गराएर पर्सी जनकपुर आइपुग्छौँ भन्थे’



धनुषा ‘‘तारा एयरको फ्लाइटबाट आज हामी मुक्तिनाथ जाँदै छौँ, मुक्तिनाथ दर्शन गराएर भोलि काठमाडौँ फर्कन्छौँ, पर्सी जनकपुर आइपुग्छौँ” आफ्नो अति नै मिल्ने साथी राजन गोलेसँग फोनमा भएको कुराकानी सुनाइरहँदा धनुषाको मिथिला नगरपालिकास्थित ढल्केबरका सोमप्रसाद शर्माले आँशु थाम्न सकेनन् ।

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान आइतबार दुर्घटना हँुदा मिथिला नगरपालिका–११ तुल्सीपाटो लोहटा बस्ने ४० वर्षीय राजन गोलेसहित उनको परिवारका सात जनाको मृत्यु भएको थियो । 


सो घटना सार्वजनिक भएसँगै परिवारजनलाई सान्त्वना दिन पुगेका सोमप्रसादले राजनसँग भएको अन्तिम कुराकानी सुनाइरहँदा उपस्थित गाउँले र परिवारको आँशुसमेत थामिएन ‘‘घरबाट सबैजना गाडीमै काठमाडौँ पुग्नुभयो, त्यहाँबाट शनिबार एती एयरको विमानबाट पोखरा पुगेर राति होटेलमा बस्नुभयो”, राजनसँग फोनमा भएको कुराकानी सम्झिँदै राजनले भने, ‘‘आइतबार बिहान ९ः५५ को तारा एयरको विमानबाट जोमसोम जाने टिकट लिएका छौँ, चिया खाएर एयरपोर्टतिर जान्छौँ भने, कुराकानी लगत्तै उहाँसँग फोन काटियो ।” त्यो नै उहाँसँगको अन्तिम कुराकानी भएको शर्माले सुनाए । 

‘‘भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनको पूर्व सन्ध्यामा राजन गोलेले साथीभाइसँग घुम्न जाने की आमाबुबालगायत आफन्तजन ज्येष्ठलाई तीर्थ लैजाने योजना बुन्दै हुनुहुन्थ्यो” उनका अति मिल्ने साथीमध्येका शर्माले भने, ‘‘चुनाव सकिएपछि राजन पहिला आमाबुबा, मामामाईजु, काकाकाकीलाई तीर्थ घुमाएर फर्किने र पछि साथीभाइसँग श्रीमती छोराछोरीसहित भ्रमण जाने निष्कर्षमा पुग्नुभएको थियो ।” 

मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर तीर्थ यात्राको मुख्य गन्तव्य बनाएका राजन गत शुक्रबार बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङलाई लिएर तीर्थयात्रामा निस्किएका शर्माले सम्झिए । 

तर उहाँहरु पोखराबाट मुस्ताङको लागि चढेको तारा एयरको सो विमान उडेको केही समय पश्चात अर्थात् १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको खबरले सनसनी फैलिएको थियो । घटना बाहिरिएसँगै राजनका घरपरिवार इष्टमित्र गाउँले शशङ्कित भएको थियो । आइतबार लामो समयसम्म विमान नभेट्दा दुर्घटना नै भएको आशङ्का थियो । तर आइतबार विमान दुर्घटना भएको र विमानमा सवार सबैको मृत्यु भएको पुष्टी भएपछि यतिबेला गाउँले शोकमा डुबेका छन् । 

विमान सम्पर्कविहीन भएको र सो विमानमा राजनको परिवारसमेत रहेका थाहा पाएलगत्तै उनको घरमा पुगेका मधेश सरकारका उद्योग वन पर्यटनमन्त्री सत्रुधन महतो गाउँले र परिवारको बिलौना सुनेर भावुक हुनुभयो । “हामीलाई ठूलो क्षति पुगेको छ, हामी शोकमा डुबेका छौँ” उनले भने । 

सोमबार बिहान तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । दुर्घटननमा तीन सदस्य चालक दलसकासहित २२ जना सवार थिए । सबैको मृत्यु भएको छ । राजन गोलेसहित उहाँका परिवारका सातैजनाले सोही दुर्घटनामा आकालमै ज्यान गुमाउनुपरेको छ ।

आमाबुबासहित आफन्तको हेरचाह, गाउँको सामाजिक कार्यले कहिलेकाहीँ घर आउनेजाने गर्ने राजन गरिब उत्पीडितलाई सहयोगसहित समाज सुधारका कार्यक्रमा सक्रिय रहँदै आएका उनका छिमेकीहरुले बताएका छन् । 

लामो समयदेखि सामाजिक कार्यमा सक्रिय राजन गोलेका श्रीमती दीपा सुवेदी र दुई छोराछोरी काठमाडौँ बस्दै आएका छन् । समाज शास्त्रमा स्नातक गरेका राजन काठमाडौँ मकलबारी टोल सुधार समितिका सदस्य, धनुषा काठमाडौँ सम्पर्क मञ्चका सदस्य, सल्लाहकार सदस्य, आदिवासी जनजाती परिषद् सदस्य भएर काम गर्दै आएका थिए । 

सोही दुर्घटनामा मृत्यु भएका राजनका मामा मकरबहादुर तामाङ स्थानीय राष्ट्रिय प्राथमिक विद्यालय लोहटामा २५ वर्ष प्रधानाध्यापक रहेर केही वर्षअघि सेवानिवृत भएका थिए । सामुदायिक वनको विभिन्न तहमा रहेर मकरबहादुर चुरे संरक्षण अभियानमा सक्रिय थिए । 

‘‘अकल्पनीय दुर्घटनाले आत्मीय मित्र परिवारजनसहित गुमाउनु पर्दा मन थामिरहेको छैन”, सोमप्रसादले भने, ‘‘आमाबुबासहित आफन्तलाई तीर्थ घुमाउने र फर्केपछि हामीसँगै पारिवारिक भ्रमण जाने राजनको सपना अधुरै रह्यो, हामीमाथि ठूलो बज्रपात भएको छ  ।” 

स्थानीय शोक मनाउनुबाहेक अन्य विकल्प नभएको बताउँदै दुर्घटनामा ज्यान गुमाएका गोलेको परिवारलगायतलाई विभिन्न माध्यमद्वारा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।