बाहुनडाँगीको तेलपानी वनमा १५ वटा जङ्गली हात्ती, स्थानीयवासीमा त्रास



झापा । मेचीनगर–३ स्थित तेलपानी सामुदायिक वनमा आज बिहान छावासहित पसेका १५ वटा जङ्गली हात्तीका कारण बाहुनडाँगीवासी त्रसित भएका छन् ।

पालिका अन्य क्षेत्रका बासिन्दाको ध्यान स्थानीय तहको निर्वाचनको मत गणनासँगै परिणामतिर सोझिरहेका बेला बाहुनडाँगी, १, ३ र ४ का बासिन्दा भने हात्तीबाट ज्यान र बाली जोगाउनतिर लागेको स्थानीयवासी शङ्कर लुइँटेलले जानकारी दिए । उनका अनुसार तीनदेखि लगातार विद्युतीय घेराबारा भत्काएर ६० भन्दा बढी हात्ती साँझ पर्ने बित्तिकै भारतीय जङ्गलबाट हूल बाँधेर बाहुनडाँगी आउने र रातभर मकै खाएर उज्यालो हुँदा उतै फर्कने गरेका छन् ।


शनिबार राति आएकोे हात्तीमध्ये १५ वटा छावासहित तेलपानी सामुदायिक वनमा रहेको उनको भनाइ छ । “प्रहरी प्रशासनदेखि सबैको ध्यान यतिबेला मत गणनातिर छ”, उनले भने, “हाम्रो भने हात्तीबाट आफू र पाकेको बाली कसरी जोगिनु भन्नेमा छ ।” उनले चार दशकदेखि बाहुनडाँगीवासी हात्तीबाट पीडित बन्दै आएको बताए । उनले बस्ती नजिकै रहेको सामुदायिक वनमा रहेका हात्ती लखेट्नका लागि डिभिजन वन कार्यालयसँग आग्रह गरिरहेको बताए ।

डिभिजन वन कार्यालय झापाका प्रमुख युवराज मास्केले रातभर साइरनसहितको टोलीले हात्ती लखेट्दै आएको बताए । उनले भने, “प्रहरी प्रशासन यतिबेला मत गणना स्थलमा सुरक्षाका लागि खटिएका छन् । एउटा मात्र साइरनसहितको गाडीले हात्ती धपाउन समस्या भइरहेको छ ।” उनका अनुसार मेची नदी किनारमा हात्तीलाई रोक्न लगाइएको विद्युतीय घेराबाराको बेलैमा मर्मत नुहँदा पनि भारतीय हात्ती हूल बाँधेर नेपाल पस्न थालेका छन् । तेलपानी वनमा रहेका हात्तीलाई भने आजै साँझ भारतीय जङ्गलतर्फ लखेट्ने तयारी गरिरहेको उनले बताए ।