बागलुङको बडिगाड अध्यक्षमा कांग्रेसको थापा विजयी



बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसको गण्डकी थापा विजयी भएकी छन् । पाँच दलीय गठबन्धनको साझा उम्मेदवार थापा जिल्लामा एक मात्रै महिला पालिका प्रमुखमा निर्वाचित भएकी हुन् । थापाले सात हजार २७३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा (एमाले)का राजनकुमार पाइजाले पाँच हजार ७०० मत प्राप्त गरे ।

पराजित राजनकुमार गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाका छोरा हुन् । विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि थापा पाइजाको प्रतिस्पर्धी थिए । ५९२ मतले मेहरसिंह पाइजासँग पराजय भएको थापा अहिले उनकै छोरालाई पराजित गर्दै विजयी भएकी हुन् ।


गाउँपालिका उपाध्यक्षमा गठबन्धनकै उम्मेदवार राष्ट्रिय जनमोर्चाका भीमसेन वन विजयी भएका छन् । वनले सात हजार १०३ मत प्राप्त गर्दा एमालेका मीनाकुमारी रायमाझीले पाँच हजार ७२७ मत प्राप्त गरेकी छन् ।

१० वडा रहेको बडिगाडमा एमालेले ३, कांग्रेसले ३, नेकपा (माओवादी केन्द्र)ले २ र राष्ट्रिय जनमोर्चाले एक स्थानमा विजय प्राप्त गरेका छन् । वडा नं १ मा राष्ट्रिय जनमोर्चाका बोमबहादुर थापा ६८३ मत, २ मा एमालेका ढालप्रसाद शेरचन ६८० मत, ३ मा एमालेका खड्कबहादुर पुन ६८९ र वडा नं ४ मा माओवादी केन्द्र)का मिलन रेश्मी ९७२ मतले विजयी भएका छन् ।

यस्तै वडा नं ५ मा एमालेका विष्णुप्रसाद आचार्यले, ६ मा कांग्रेसका वीरबहादुर केसी ५३२ मत, ७ मा कांग्रेसका दीपेन्द्र केसी ७६९ मत, ८ मा एमालेका यामबहादुर श्रीष थापा ६८९ मत, ९ मा नेपाली कांग्रेसका कृष्णबहादुर केसी ६६५ र वडा नं १० मा माओवादीका वीरेन्द्रकुमार बुढा मगर ७७४ मतले विजयी भएका छन् ।