प्रधानमन्त्री देउवाको बुटवलवासीलाई प्रश्न : ओलीजीको पार्टीलाई जिताएर के गर्नुहुन्छ ?



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीको अत्याचार बढ्दै गएपछि पाँच दलीय गठबन्धन बनेको बताएका छन् ।

पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले लहडका भरमा पटकपटक संसद विघटन गरेकाले त्यसकाविरुद्ध गठबन्धन बनाएको बताएका हुन् ।


ओलीले दुई पटकसम्म विघटन गरेको संसदलाई अदालतले पुनःस्थापना गरिदिए पनि फेरि त्यही एमालेले संसद चल्न नदिएको उनले बताए । उनले एमालेलाई जिताए भोलिका दिनमा हिजोको जस्तै हालत नेपाली जनताले भोग्नुपर्ने बताए । 

देशको स्थायी विकास गर्न, सुकुम्वासीहरूको समस्या समाधान गर्नदेखि राजनीतिक व्यवस्थाहरु जोगाउन पनि गठबन्धन बनेको देउवाले प्रष्ट पारे ।  उनले बुटवलवासीलाई नेकपा एमालेका उम्मेदवारलाई मत नदिन आग्रह गरे । उनले भनेका छन्, ‘ओलीजीको पार्टीलाई जिताएर के गर्नुहुन्छ ? संसद् विघटन गरेको गरेकै गर्नुभयो । अदालतले न्याय गरेर संसद् पुनःस्थापना गर्‍यो तर चल्न दिएको छैन ।’

उनले गठबन्धन दहरूबीच तालमेल गरेर उम्मेदवारी दिइएकाले  गठबन्धनका सबै साथीहरूलाई कुनै शंकाउपशंका नगरी जिताउन आग्रह गरे । उनले  एमसीसी एउटा विदेशी अनुदान भएको स्पष्ट पार्दै अन्य देशसँग पनि अनुदान सहयोग लिएर देशको विकास गर्नुपर्ने आवश्यकता औँल्याए।

एमसीसी परियोजनाबाट बुटवलदेखि दाङसम्मको सडक विस्तार हुने र विद्युत प्रसारण लाइन बन्ने भएकाले त्यसबाट सबैभन्दा बढी फाइदा बुटवलदेखि दाङसम्मका जनतालाई हुने उनको भनाइ थियो ।