पुरातात्विक महत्वका सम्पदाको संरक्षण गर्छौँ : मन्त्री आले



काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिएक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालबाट चोरी निकासी भई विदेश पुगेका र त्यहाँबाट फिर्ता ल्याइएका मूर्तिको संरक्षण गरिने बताएका छन् ।

नेपालबाट हराएका तथा चोरी भएर अमेरिका विभिन्न सङ्ग्रहालय पुगेका विभिन्न शताब्दीका पाँचवटा मूर्ति आज नेपाल ल्याई पुरातत्व विभागलाई हस्तान्तरण गर्ने कार्यक्रममा मन्त्री आलेले नेपालको कला, सम्पदा, सांस्कृतिक तथा पुरातात्विक महत्वका सम्पदालाई चोरी निकासी हुनबाट जोगाउनुपर्ने बताए ।


उनले भने, “हाम्रो पहिचानको धरोहरको रुपमा रहेका सांस्कृतिक तथा पुरातात्विक महत्वका सम्पदा मासिने र चोरी निकासी हुने क्रम बढेको छ, हामीले हाम्रा सम्पदाको संरक्षण गर्न जरुरी भएको छ ।” सोही कार्यक्रममा मन्त्री आलेले ऐतिहासिक, सांस्कृतिक महत्वका सम्पदाको संरक्षणमा सरोकार भएका सबै निकायले विशेषरुपमा ध्यान दिएर काम गर्नुपर्नेमा जोड दिए ।

उनले भने, “नेपाल कला सम्पदाको भरिपूर्ण देश हो, नेपालका सांस्कृतिक, पुरातात्विक महत्वका सम्पदाले विश्वमै विशिष्ट र मौलिक पहिचान बोकेका छन्, हाम्रा पहिचानका धरोहरको सबैले संरक्षण गर्न जरुरी छ ।”

सोही कार्यक्रममा विदेशी भूमिमा पुगेका नेपालका मूर्ति फिर्ता दिने तथा नेपाल ल्याउन सहयोग गर्ने सबैलाई मन्त्री आलेले धन्यवादसमेत दिएका थिए ।

उक्त कार्यक्रममा नेपालस्थित अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन म्यानुअल पि मिकालरले नेपालबाट चोरी निकासी भई अमेरिका विभिन्न सङ्ग्रहालयमा पुगेका नेपालका पुरातात्विक महत्वका सामग्री फिर्ता गर्दै जाने प्रतिबद्धता जनाएका थिए ।

नेपालबाट हराएर अमेरिकाको विभिन्न स्थानमा पुगेका ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्वका पाँच प्राचीन मूर्ति फिर्ता ल्याई पुरातत्व विभागले आज एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेको थियो ।

पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमका अनुसार फिर्ता भएका मूर्तिमा प्रस्तरको चतुर्मुखी शिवलिङ्ग, प्रस्तरको उमामहेश्वरको मूर्ति, प्रस्तरको नागराजको मूर्ति, पद्मपाणि लोकेश्वरअर्थात् बोधिसत्व अवलोकितेश्वर मूर्ति र प्रस्तरको शाक्यमुनिको मूर्ति रहेको छ ।