पहिरो खसेपछि पाल्पा–बुटवल सडक अवरुद्ध



रामपुर । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडक खण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । तिनाउ गाउँपालिका–५ कालीमाटीमा आज सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

सुक्खा पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । जेसीबीले पहिरो पन्छाउने काम भइरहेपनि पुनः पहिरो खसेर सडक खुल्न समय लाग्ने भएको छ ।


जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले पुनः पहिरो खसेपछि समस्या थपिएको र एकतर्फी रूपमा बाटो सुचारू गर्ने प्रयास भइरहेको बताए ।

पाल्पा तानसेनदेखि बुटवलतर्फ जाने तथा बुटवलदेखि तानसेनतर्फ आउने सवारी साधन सडकमै रोकिएका छन् । सो सडकमा बेलाबेलामा पहिरो खस्ने समस्याले यात्रुले सास्ती खेप्नुपरिरहेको छ ।