पर्वतको फलेवासमा गठबन्धनका उम्मेदवार तिवारी र क्षेत्री विजयी



पर्वत । पर्वतको फलेवास नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट नगर प्रमुखको उम्मेदवार बनेका नेपाली कांग्रेसका गङ्गाधार तिवारी नगरप्रमुख र माओवादी केन्द्रकी शोभा क्षेत्री क्रमशः प्रमुख र उपप्रमुखमा विजयी भएका हुन् ।

तिवारीले एक हजार ३६२ मतको अन्तरले एमाले उम्मेदवार पदमपाणि शर्मालाई पराजित गरेका हुन् । तिवारीले सात हजार ७०० मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमालेका शर्माले छ हजार ३३८ मत प्राप्त गरेका छन् ।


त्यसैगरी उपप्रमुखमा शोभाकुमारी क्षेत्रीले छ हजार ३२७ मत प्राप्त गरी विजयी भएकी छन् भने उनकी प्रतिस्पर्धी एमालेकी मञ्जु अधिकारीले छ हजार ५७ मत प्राप्त गरेकी छन् । उपप्रमुखमा २७० मतको अन्तर रहेको छ ।

फलेवासमा पुरानै अनुहार दोहोरिएका हुन् । अहिले पराजित बनेका पदमपाणि शर्मा र मञ्जु अधिकारी निवर्तमान नगर प्रमुख र उपप्रमुख हुन् । विसं २०७४ को स्थानीय निर्वाचनमा अहिले विजयी भएका तिवारी र क्षेत्री झिनो मतले पराजित भएका थिए ।