दैलेखको महावु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी



दैलेख । दैलेखको महाबु गाउँपालिकामा नेपाली कांग्रेसको उम्मेदवार विजयी भएको छ । एमाले र एकीकृत समाजवादीका उम्मेदवारलाई पराजित गर्दै कांग्रेसका लक्ष्मण गुरुङ अध्यक्षमा विजयी भएका हुन् ।

गुरुङ दुई हजार ९७९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका हरिप्रसाद उपाध्यायले दुई हजार ५१९ मत प्राप्त गरे । एकीकृत समाजवादीका जङ्गबहादुर शाहीले दुई हजार २६८ मत प्राप्त गरे । शाही यसअघि २०७४ मा पालिकाको अध्यक्षमा एमालेबाट निर्वाचित भएका थिए ।


निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएअनुसार उपाध्यक्षमा पनि कांग्रेसकी मञ्जु पाण्डे निर्वाचित भएकी छन् । पाण्डेले तीन हजार १५५ मत प्राप्त गरिन् । एमालेबाट उम्मेदवार दुर्गाकुमारी सिंहले दुई हजार ३०१ मत र एकीकृत समाजवादीका पुन्यप्रभा दशौदीले दुई हजार १३३ मत ल्याएका छन् ।

छ वडा रहेको महाबु गाउँपालिकामा तीन वडामा कांग्रेस, २ वडामा माओवादी र एक वडामा एमालेले अध्यक्ष जितेको छ ।