तारा एयर दुर्घटना छानविन गर्न पाँच सदस्यीय जाँच आयोग गठन



काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मुस्ताङमा आइतबार भएको तारा एयरको विमान दुर्घटनाको छानविन गर्न ५ सदस्यीय आयोग गठन गरेको छ । मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष रहेको दुर्घटना जाँच आयोग गठन गरेको हो ।

आयोगका अन्य सदस्यहरुमा क्याप्टेन दिपुराज ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।


आइतबार पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको ट्वीनअटर विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटना भएको थियो । जहाजमा १९ यात्रु र ३ चालक दलका सदस्य गरी २२ जना यात्रु थिए । उनीहरुमध्ये सोमबार २१ जनाको शव भेटिएको छ ।