तानसेन नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा नेकपा(माओवादी केन्द्र) विजयी



पाल्पा । पाल्पाको सदरमुकाम तानसेन नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका सन्तोषलाल श्रेष्ठ विजयी भएका छन् । गठबन्धनका उम्मेदवार श्रेष्ठले ११ हजार २७३ मत प्राप्त गरी विजयी भएका हुन् । श्रेष्ठका प्रतिस्पर्धी नेकपा (एमाले) पाल्पाका अध्यक्षसमेत रहेका धनेन्द्रराज घिमिरेले १० हजार ३९४ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा नेकपा(माओवादी केन्द्र)की प्रतीक्षा सिञ्जालीले ११ हजार १५१ मतसहित निर्वाचित भएकी छन् । उनकाे प्रतिस्पर्धी एमालेकी शशि श्रेष्ठले १० हजार ३७२ मत पाएकी छन् ।


कूल १४ वटा वडा रहेको तानसेनमा वडा नं १, २, ३, ४, ५, ६, ७, ११ र १२ नेपाली कांग्रेस र ८, ९, १० र १४ मा नेकपा एमाले विजयी भएको छ भने वडा नं १३ मा माओवादी केन्द्र विजयी भएको छ ।

अघिल्लो निर्वाचनमा एमालेका प्रमुख र उपप्रमुख निर्वाचित भएका थिए । कूल ३३ हजार ७६९ मतदाता रहेको तानसेनमा २३ हजार २५३ मत खसेको थियो ।