तनहुँमा मतगणना सुरु



तनहुँ । स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार भएको मतदान सकिएपछि तनहुँमा मतगणना सुरु भएको छ । जिल्लाका तीन पालिकामा शुक्रबार राति र एक पालिकामा आज बिहानदेखि मतगणना सुरु भएको हो ।

बन्दीपुर , म्याग्दे र घिरिङ गाउँपालिकामा शुक्रबार रातिदेखि नै मतगणना सुरु भएको छ भने भिमाद नगरपालिकामा आज बिहानदेखि मतगणना सुरु भएको छ । अन्य पालिकामा पनि मतगणना सुरु गर्ने तयारी छ । व्यास नगरपालिकामा भने मतगणनामा अन्यौल भएको छ ।


व्यास–८ रिस्ती मतदान केन्द्रमा विवाद भएपछि नेकपा (एमाले) र गोविन्दराज जोशी समूहले पुनःमतदान गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा ६४ प्रतिशत मत खसेको छ । जिल्लाका दशवटै पालिकाका २९७ मतदान केन्द्रमा भएको मतदानमा ६४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।