झापा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष कांग्रेसका उम्मेदवार निर्वाचित



झापा । झापा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ । गाउँपालिका अध्यक्षमा दोस्रो कार्यकालका लागि जयनारायण शाह र उपाध्यक्षमा अञ्जुदेवी थपलियाले जीत हासिल गरेका छन् ।

शाहले ६ हजार ७९८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का गौरीशङ्कर राजवंशीले चार हजार ३६५ मत प्राप्त गरे ।


उपाध्यक्षमा निर्वाचित थपलियाले पाँच हजार ८६८ मत प्राप्त गरिन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार देवीमाया अधिकारीले चारहजा ३७१ मत प्राप्त गरिन् ।

गत स्थानीय तहको निर्वाचनमा समेत झापा गाउँपालिकामा अध्यक्ष पद नेपाली कांग्रेसका तर्फबाट शाहले नै जीत हासिल गरेका थिए । उपाध्यक्षमा एमालेबाट कुन्तादेवी बुढाथोकीले जीत हासिल गरेकी थिइन् ।

सात वटा वडा रहेको यो पालिकामा पाँच वडामा वडाध्यक्षसमेत कांग्रेसले नै जीत हासिल गरेको छ । दुई वडामा भने स्वतन्त्र उम्मेदवारले जीत हासिल गरेका हुन् । वडा नं ३ मा सुभासलाल गणेशले वडाध्यक्ष जिते ।

त्यस्तै वडा नं ५ मा कृष्णप्रसाद राजवंशीले वडाध्यक्षमा जीत हासिल गरे । झापा गाउँपालिका वडा नम्बर १ मा कांग्रेसबाट राजकुमार यादवले दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित बने ।

त्यस्तै वडा नं २ मा कांग्रेसबाट हिमालकुमार चम्लगाईं, ३ मा स्वतन्त्र उम्मेदवार सुभासलाल गणेश, ४ मा कांग्रेसका महमत ताहिर, ५ मा स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद राजवंशी, ६ मा कांग्रेसबाट नवीनकिशोर थापा र वडा नं ७ मा शखीचन्द्र ठाकुर निर्वाचित भए ।