जिल्ला प्रशासन कार्यालय पर्वतबाट प्रवाह हुने सेवा चारदिनका लागि स्थगित



पर्वत । आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा आजदेखि चारदिनका लागि बन्द गरिएको छ ।

निर्वाचनका लागि कर्मचारी मतदान केन्द्रमा खटिने तथा अनुगमनलगायत विभिन्न कारणले सेवा प्रवाहलाई निरन्तरता दिन नसक्ने अवस्था भएपछि सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाद्वारा जारी सूचनामा जनाइएको छ । नागरिकता, नाबालक, राष्ट्रिय परिचयपत्र, राहदानी, पेन्सनलगायतका सेवा आगामी जेठ ३ गतेदेखि नियमित हुने जनाइएको छ । त्यस्तै जिल्ला मालपोत कार्यालयका सेवा पनि यही वैशाख २७ गतेदेखि बन्द हुने भएका छन् ।


निर्वाचनमा एक हजार १७६ कर्मचारी परिचालन हुने भएका छन् । यसैगरी जिल्लामा मादक पदार्थ बिक्री वितरण र सेवनमा निषेध गरिएको छ । निर्वाचनलाई लक्षित गरी प्रशासनले वैशाख २७ गते मङ्गलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नगर्न नगराउन आदेश जारी गरेको छ । मदिरा सेवनका कारण समाजमा होहल्ला, झैझगडा तथा गैरकानुनी र अपराधिक क्रियाकलाप हुनसक्ने भन्दै मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको प्रजिअ सापकोटाले बताए ।

त्यसैगरी मतदानको दिन अत्यावश्यक सेवामा सञ्चालित र अनुमति लिएका सवारी साधनबाहेकका सवारी साधन बिहान ६ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म सञ्चालन नगर्न÷नगराउन पनि प्रशासन अनुरोध गरेको छ । प्रशासनले जारी सूचना विपरितका कार्य तोकिएको अवधिमा गरे÷गराईएको पाइएमा कानुन अनुसार कारबाही गरिनेसमेत प्रजिअ सापकोटाले बताए ।