जहाजमा तेल हाल्ने ‘रिफ्युलर’ ट्याङ्कर पल्टिँदा पोखरा विमानस्थलमा उडान रोकियो



कास्की । पोखरा विमानस्थलमा जहाजमा तेल हाल्ने ‘रिफ्युलर’ ट्याङ्कर पल्टिँदा विमानस्थलबाट हुने सबै उडान रोकिएको छ ।

पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले बिहान हवाईजहाजमा तेल हाल्न जाने क्रममा ट्याङकर पल्टिएपछि विमानस्थलबाट हुने सबै उडान प्रभावित बनेको जानकारी दिए । आयल निगमको डिपोबाट तेल हाल्न जाने क्रममा विमानस्थलमै ‘रिफ्युलर’ ट्याङ्कर पल्टिएको हो ।


अहिले क्रेनको सहायताले उठाउने काम भइरहेको उनले बताए । उनले भने, “रिफ्युलर’ ट्याङ्कर पल्टिएकाले अहिले यहाँबाट हुने सम्पूर्ण उडान रोकिएको छ । क्रेनको मद्दतमा त्यसलाई हटाउन सुरु गरेका छौँ, आधा घण्टापछि सञ्चालन होला ।” ट्याङ्कर उठाएर विमानस्थलमा पोखिएको तेल सफा गरेपछि उडान सञ्चालन हुने बताइएको छ ।