जनकपुरधामको प्रमुखमा स्वतन्त्र उम्मेदवार सुडी र उपप्रमुखमा कांग्रेसका साह विजयी



जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज साह सुडी र उपप्रमुखमा नेपाली कांग्रेसका किशोरी साह विजयी भएका छन् । अहिले केही बेरअघि सार्वजनिक अन्तिम मत परिणामअनुसार नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार साह झन्डै चार हजारको मतान्तरले निर्वाचित भएका हुन् ।

नगरप्रमुखमा निर्वाचित साहले १३ हजार ४६५ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का शिवशंकर साह (हिरा) ले नौ हजार ५३२ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । यस्तै लोसपाका मनोज चौधरीले पाँच हजार ३६० मत ल्याउँदा निवर्तमान नगरप्रमुख तथा पाँच दलीय गठबन्धनबाट जसपाका उम्मेदवार लालकिशोर साहले पाँच हजार १९४ मत ल्याए ।


यसैगरी उपप्रमुखमा कांग्रेसका किशोरी साह १५ हजार ५२५ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की रुना झाले १० हजार ८८५ मत ल्याइन् । यस्तै निवर्तमान उपप्रमुख रिताकुमारी मिश्रले पाँच हजार ८१७ मत मत ल्याए । योसँगै धनुषाको १८ वटै पालिकाको मतगणना सकिएको छ ।