चन्द्रागिरि नगरपालिकाको प्रमुखमा गठबन्धनको अग्रता



काठमाडाैँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरिले अग्रता लिएका छन् ।

अहिलेसम्म गणना भएको १९ हजार ५०० मतमध्ये गठबन्धनको तर्फबाट नगरप्रमुख पदका उम्मेदवार गिरिले आठ हजार ८३० मत ल्याई अग्रस्थानमा रहेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उत्तमबहादुर राउतले सात हजार १५० मत प्राप्त गरेकाे निर्वाचन अधिकृत सिर्जना थपलियाले जानकारी दिइन् ।


यस्तै, उपप्रमुखमा एमालेले अग्रता लिएको छ । एमालेका वसन्ती श्रेष्ठले आठ हजार १२८ मत प्राप्त गरेकी छन् भने गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमोर्चाका रोशन दानीले दुई हजार ८९ मत प्राप्त गरेका छन् ।

हालसम्म चन्द्रागिरिका सातवटा वडाको मतगणना सम्पन्न भइसकेको निर्वाचन अधिकृत थपलियाले बताइन् । अहिले चन्द्रागिरिमा वडा नं ८, ९ र १० को मतगणना भइरहेको छ ।

कूल ४७ हजार २६४ मतदाता रहेको चन्द्रागिरिमा ३६ हजारभन्दा बढी मत खसेको निर्वाचन कार्यालय चन्द्रागिरिले जनाएको छ । चन्द्रागिरि काठमाडौँ उपत्यकाभित्रकै सबैभन्दा ठूलो नगरपालिका हो ।