घोराहीमा गठबन्धनको अग्रता कायमै, लमहीमा कांग्रेस अगाडि



दाङ । घोराही उपमहानगरपालिकामा गठबन्धनबाट प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हेमराज शर्माले अग्रता बढाएका छन् । उनले दुई हजार ८८४ मत प्राप्त गरेका छन् ।

नेकपा (एमाले)का नरुलाला चौधरीले भने दुई हजार ५३४ मत प्राप्त गर्नु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रमुख पदमा करिब ३०० मतान्तर भए पनि उपप्रमुखमा धेरै रहेको छ । गठबन्धनबाट उपप्रमुख पदमा उम्मेदवार बन्नुभएका नेपाली कांगे्रसका भुपबहादुर डाँगीले तीन हजार १०० मत प्राप्त गरेका छन् । एमालेका हुमा डिसीले दुई हजार ५३४ मत प्राप्त गरेका छन् ।


लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार अहिले घोराही उपमहानगरपालिकाको वडा नं १४, १५, १६, १७, १८ र १९ को मतगणना जारी छ । घोराही उपमहानगरपालिकामा कूल एक लाख १२ हजार ९२७ मतदाता रहेकोमा ७६हजार ५२९ अर्थात् ६७.७६ प्रतिशत मत खसेका थियो । त्यसैगरी लमही नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ ।

सो नगरपालिकाको नगरप्रमुखमा कांग्रेसका उम्मेदवार जोगराज चौधरीले एक हजार ३३३, एमालेका उम्मेदवार ढुण्डिराम चौधरीले एक हजार ११ र माओवादीका वसन्तराज शर्माले एक हजार ४७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय लमहीले जनाएको छ । त्यस्तै उपप्रमुखमा कांगे्रसका उम्मेदवार लक्ष्मी योगी, एक हजार ३६२, एमालेका सुनिता शर्माले एकहजार ४३ र माओवादीका गङ्गा पाण्डेले ७९४ मत प्राप्त गरेका छन् ।

गढवा गाउँपालिकामा भने माओवादीका उम्मेदवारले अध्यक्षमा र उपाध्यक्षमा कांगे्रसका उम्मेदवारले अग्रता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालय अनुसार माओवादीका उम्मेदवार यमनारायण पोख्रेलले ९१०,कांगे्रसका सर्वजीत डिसीले ९०० र एमालेका सहजराम यादवले ७७० मत प्राप्त गर्नुभएको छ भने उपाध्यक्षमा कांग्रेसका शारदा चौधरीले ८७५, एकीकृत समाजवादीका शान्ती चौधरीले ४९१ र एमालेका सीता चौधरीले ४९१ मत प्राप्त गरेका छन् ।