गठबन्धनलाई हराउँदै मौलापुरको मेयरमा रिना साह विजयी



रौतहट । मौलापुर नगरपालिकामा गठबन्धनलाई हराउँदै मेयर पदमा नेकपा एमालेकी उम्मेद्वार रिना कुमारी साह विजयी भएकी छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाटनेकपा  माओवादी केन्द्रका राम प्रवेश यादवले ३ हजार ६२ मत प्राप्त गरेका छन ।

साह दोस्रो कार्यकालको लागि मेयर बनेकी हुन् । २०७४ सालमा उनी मधेस प्रदेशको एकमात्र उपमेयर बनेकी थिइन् । त्यो बेलामा उनी नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएकी थिइन् । एमाले र माओवादी एकता भएर गठन भएको नेकपा विघटन भएपछि उनले एमाले रोजेकी थिइन् । साह नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहकी श्रीमती हुन्।


यसैगरी उपमेयरमा पनि नेकपा एमालेकै उम्मेदवार नागेन्द्रप्रसाद साह ४५ सय १४ मतका साथ निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी रिना कुमारी साह ( कानु ) ले ३४ सय ४ मत प्राप्त गरेकी छन्। 

मौलापुर नगरपालिकामा कुल मतदाता १४ हजार ७ सय ८४ रहेकोमा १२ हजार ७६० मत खसेको थियो । नगरपालिकाको ९ वडामध्ये  वडा नम्बर १ मा नेकपा माओवादी केन्द्र र वडा नम्बर ६ मा एकीकृत समाजवादीले जितेको छ भने अन्य सवै वडाहरुमा नेकपा एमालेले जितेको छ ।