खटिनुअघि नमूना मतदान



बलेवा । धवलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा शनिबार जिल्लाका सुरक्षा प्रमुखसहित कर्मचारीको भीड देखिन्थ्यो । भीडमा राजनीतिक दलका प्रतिनिधि, पत्रकार र स्थानीयवासी समेत थिए । तारबार लगाएर बीचमा केही सामग्रीसमेत राखिएकाले के होला भनेर वरपरका मानिसले पनि चासो राखे । एक राजनीतिक दलका नेताले त फोन गरेरै त्यो के को भीड हो भनेर सोध्न पनि भ्याए ।

आसन्न स्थानीय तह निर्वाचनकालागि खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतको दुईदिने तालिम सकिएपछि आयोजित नमूना मतदानकालागि उक्त भीड र सामग्रीसहित तारबार लगाइएको थियो । अगाडि बस्नुभएका मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपाने, प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, प्रहरी र सेनाका प्रमुख तथा राजनीतिक दलका प्रतिनिधि दर्शकका रूपमा थिए । कर्मचारी र पत्रकार लाइनमा बसेर मतदान गर्न नामावली हेर्दै थिए ।


त्यहाँ दुरुस्तै नामावलीको लिस्ट भएपनि वास्तविक नाम थिएनन् । कोही जुठे, कोही गोरे त कोही बाटुली नाम गरेका मतदाताको नाम थियो । नमूना मतदानकै लागि तयार गरिएको उक्त नामावली मात्र होइन, मतपत्रमा पनि नमूना चिह्न थिए । साइज र कोठा वास्तविक मतपत्रजस्तै भएपनि नमूना मतपत्रसहितका सामग्री थिए । मतदान सुरु गर्नुअघि सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले मतदान अधिकृत र सहायक अधिकृतलाई रित्तो बाकस शिल गर्ने तरिकादेखि त्यसका लागि दलका प्रतिनिधिबीच गर्नुपर्ने मुचुल्काबारे जानकारी गराए । मतदान गर्ने स्थानको सुरक्षाबारे पनि उनले जानकारी गराए ।

दलका प्रतिनिधिलाई पनि उनले सम्झाए । “हरेक मतदाता वास्तविक हो होइन भनेर दलका प्रतिनिधिले चिन्नुपर्छ, कर्मचारीले कानुनी र प्रक्रियाबारेमात्रै जानकारी गराउने हो”, मुख्य निर्वाचन अधिकृत न्यौपानेले भने, “मतदान केन्द्रमा हुनसक्ने हो–हल्ला र अन्य जोखिम व्यवस्थापनमा पनि सुरक्षा निकाय र दलका प्रतिनिधि मिलेर काम गर्नुपर्छ ।” उनले कर्मचारीलाईपनि हिम्मत र फुर्तिका साथ काम गर्न सुझाव दिए ।

मतदान गर्दा बदर नहोस् भनेर गरिने तरिका तथा मतपत्र पट्याउने तरिका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोकुल शर्माले सिकाए । पट्याउँदा एक चिह्नमा लगाएको छाप अर्कोमा नपर्ने गरी पछ्याउनुपर्ने तरिकाले मत बदर हुनबाट बचाउने उनको भनाइ थियो । सबै प्रक्रिया पुगेपछि लाइनमा बसेका मतदाताले मतदान गरे ।

गोप्य मतदान भएकाले कसैको डर, धम्की, प्रलोभनसमेतमा नपरी मत खसाल्न मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले बताए । “यो नमूना मतदानले पनि कतिपय प्रक्रिया र तरिका सिकायो, तर मुख्य काम वैशाख ३० गतेको निर्वाचन सफल पार्ने हो”, उनले भने,“जनताले उत्साहका साथ मतदान केन्द्रमा आएर मत खसाल्ने वातावरण बनाउन दल र सामाजिक अभियान्ता सक्रिय बन्नुपर्छ ।” आम नागरिकमा उत्साह भएमा सही उम्मेदवार निर्वाचित भएर आउने अवस्था बन्ने उनले बताए ।

नमूना मतदानले फिल्डमा खटिएपछि काम गर्ने तरिकाबारे सिकाएको बालमन्दिर प्राविमा खटिएकी एक कर्मचारी कविता शर्माले बताइन् । “तालिममा सिकेपनि व्यवहारिकरूपमा यहाँको नमूना मतदानले धेरै सिकायो”, उनले भनिन्, “काममा परेपछि मात्र धेरै कुरा सिक्न पाइने रहेछ ।” निर्वाचनअघि र निर्वाचनपछि गर्नुपर्ने प्रक्रियाबारे पनि नमूना मतदानले प्रष्ट बनाएको नमूना मतदानमा खटिनुभएकी निर्वाचन अधिकृत गोमा रिजालले बताइन् ।