क्षतिग्रस्त बनेको नौ महिनापछि नहर तथा कुलो निर्माण थालिने



गण्डकी । बेगनास सिँचाइ प्रणालीअन्तर्गत गत वर्षको बाढीका कारण क्षतिग्रस्त बनेको पोखरा महानगरपालिका–३२ स्थित भुनभुने खण्डको नहर तथा कुलो नौ महिनापछि निर्माण कार्य अघि बढाइएको छ । गत वर्ष भदौ ८ गतेको बाढीले पूर्णरूपमा क्षति बनाएको नहर तथा कुलो निर्माणका लागि स्थानीयवासी एवं उपभोक्ता समूहको निरन्तरको दबाबपछि निर्माणको काम बढाइएको हो ।

निर्माण कार्यको एक कार्यक्रमका बीच गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री हरिशरण आचार्यले आज शुभारम्भ गरे । कार्यक्रममा मन्त्री आचार्यले गत वर्ष बजेट बनिसकेका अवस्थामा कुलो तथा नहर भत्केको र फागुनपछि मात्र रकमान्तर गर्न सकिने लगायतका कारण निर्माण चाँडो सुरु हुन नसकेको बताए। निर्माण सम्पन्न गर्न रु दुई करोड ४० लाख लाग्ने भए पनि तत्काल पानी चलाउनका लागि हाल रु एक करोड ३० लाख निकासा गर्ने गरी तयारी गरिएको उनले जानकारी दिए । निर्माणका लागि स्थानीयवासी, स्थानीय तह सबैको साथ र सहयोग आवश्यक हुने उनले बताए ।


सिँचाइ डिभिजन कार्यालय पोखराका प्रमुख किरण आचार्यले यही असार मसान्तसम्म नहर तथा कुलोमा पानी चल्ने गरी काम गर्ने लक्ष्य राखिएको बताउँदै यसका लागि सबैको सहयोग आवश्यक हुनेमा जोड दिए । कार्यक्रममा पोखरा–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की, नेपाली कांग्रेसका क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछाने, बेगनास सिँचाइ प्रणाली उपभोक्ता मूल उपभोक्ता समितिका अध्यक्ष पुष्पराज भण्डारी, निर्माण उपभोक्ता समितिका अध्यक्ष घनश्याम तिवारी, निवर्तमान वडासदस्य विष्णुप्रसाद तिवारीलगायतले निर्माण समयमा नै सम्पन्न गर्न नसकेमा ठूलो क्षेत्रफलको जग्गा बाँझै रहने भएकाले गुणस्तरीयतासँगै चाँडो सम्पन्न गर्ने गरी काम हुनुपर्ने बताए ।