कैलालीका केही पालिकामा मतगणना सुरु



टीकापुर । शुक्रबार सम्पन्न निर्वाचनको मतपेटिका सङ्कलनपछि यहाँका पालिकामा मतगणना कार्य सुरु गर्न थालिएको छ । कैलालीको बर्दगोरिया गाउँपालिकामा मतगणना सुरु भएको छ भने टीकापुरमा मतगणना सुरु गर्ने तयारी गरिएको छ ।

निर्वाचन अधिकृत पुष्कर खड्काका अनुसार गोलाप्रथाबाट छनोट गर्दा सबैभन्दा पहिले वडा नं ५ को गणना हुने भएको छ । वडा नं ५ पछि ३, ९, ४, ८, १, ७, २ र ६ नं वडाको गणना हुने भएको छ । लम्कीचुहा नगरपालिकामा ३३ हजार ९४८ मत खसेको छ । कैलारी गाउँपालिकामा ७८.१२ प्रतिशत मत खसेको छ ।


जम्मा ३६ हजार ७३५ मतदाता रहेको यो पालिकामा २८ हजार ६९७ भोट खसेको निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिनुभयो । जानकी गाउँपालिकाका केही स्थानमा शुक्रबार बेलुका मतपेटिका उठाउने क्रममा विवाद भएको छ । वडा नं २ मा मतपेटिका उठाउने क्रममा विवाद भएपछि प्रहरीले हवाइ फायर गरेको थियो ।

जानकीमा अहिले ८ बजे सर्वदलीय छलफल मतगणना सुरु गर्नेबारे समय तोकिने बताइएको छ । जोशीपुर गाउँपालिका र भजनी नगरपालिकामा पनि आजै मतगणना सुरु गर्ने बताइएको छ । सबै ठाउँमा मतपेटिका सङ्कलन भइसकेकाले मतगणना सुरु गरिने छ । कैलालीको एकमात्र उपमहानगरपालिका धनगढीको मतगणनासमेत आजदेखि नै सुरु हुनेछ ।

मतपेटिका सङ्कलनमा समय लागेकाले दिउँसोबाट मतगणना थालिने बताइएको छ । धनगढीमा पनि अहिले सर्वदलीय बैठक बसेर छलफलपछि मतगणना गरिने कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताउनुभयो । जिल्लामा निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ ।

निर्वाचन कार्यालय कैलालीकाअनुसार कैलालीमा ६५ प्रतिशत मत खसेको छ । जिल्लामा ६१९ मतदान केन्द्रबाट निर्वाचन भएको हो । १३ स्थानीय तहमा पाँच लाख २५ हजार १२५ मतदाता रहेकामा ६५ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।