काठमाडौँको प्रमुखमा सिर्जना सिंहलाई र भरतपुरको प्रमुखमा रेनु दाहाललाई जिताउन देउवाकाे आग्रह



काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महानगरपालिका प्रमुखमा महिला उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् ।  

सत्ता गठबन्धनले शुक्रबार काठमाडौँमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले छ महानगरमध्ये दुई जना महिलालाई जिताउन आग्रह गरे । 


उनले भने, ‘सिर्जना सिंह काठमाडौँबाट र प्रचण्डजीको छोरी रेनु दाहाल भरतपुरबाट उठिराख्नुभएको छ । मलाई विश्वास छ दुवै महिलाले जित्नुहुनेछ ।’

‘‘राजधानीमा महिला उम्मेदवारलाई हराएपछि राष्ट्रिय अन्तर्राष्ट्रिय जगतले के भन्ला ?,’’ प्रधानमन्त्री देउवाले भने ।

उनले काठमाडौँको प्रमुखमा सिर्जना सिंहलाई र भरतपुरको प्रमुखमा रेनु दाहाललाई जिताउन आग्रह गरे । प्रधानमन्त्री देउवाले सिर्जनाले काठमाडौँमा फोहोर समस्या रहेकोले प्रमुख जितेको छ महिनाभित्र व्यवस्थापन गरिने बताए ।

उनले भने, ‘काठमाडौँ सफा गर्छु, काठमाडौंमा एक मिनेट बस कुर्न दिन्न भनेर प्रतिबद्धता जनाउनुभएको छ । रेनुले कति राम्रो काम गर्नुभएको छ । त्यस्तो राम्रो काम गर्ने महिलालाई हुँदैन भन्न मिल्दैन । राम्रो काम गर्ने महिलालाई पुरस्कार दिनुपर्ने हो ।’