कन्सलटेन्सी सञ्चालक पाण्डेले यौन दुर्व्यवहार गरेको भन्दै अर्की युवती पनि प्रहरी सम्पर्कमा



काठमाडौँ । सौन्दर्य प्रतियोगितामा सहभागी युवतीलाई बलात्कार तथा यौन दुर्व्यवहारको अभियोगमा प्रहरी हिरासतमा रहेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेविरुद्ध अर्की युवती पनि प्रहरी सम्पर्कमा पुगेकी छन् ।

ती युवतीले आफूमाथि पनि पाण्डेले यौन दुर्व्यवहार गरेको भन्दै सामाजिक सन्जालमा पोष्ट गरेपछि प्रहरीले उनलाई सोधिखोजी गरेको हो ।


यो घटना भने हदम्याद भित्रकै भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख उत्तम सुवेदीका अनुसार पाण्डेले केही समयअघि मात्रै आफूलाई दुर्व्यवहार गरेको ती युवतीले जानकारी दिएकी छन्।

८ वर्षअघि सौन्दर्य प्रतियोगितामा सहभागी हुँदा आयोजक पाण्डेले आफूलाई बेहोस बनाएर बलात्कार गरेको र ब्ल्याकमेलिङ गरेर ६ महिनासम्म यौन शोषण गरेको भन्दै एक युवतीले भिडियोमार्फत घटना विवरण सार्वजनिक गरेपछि प्रहरीले शनिबार पाण्डेलाई स्वयम्भु क्षेत्रबाट नियन्त्रणमा लिएको थियो।

उनीविरुद्ध मानव बेचविखन तथा ओसारपसार कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ । पाण्डेलाई सोमबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएर अनुसन्धानका लागि म्याद थप गराउने अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।