उदयपुरका चार गाउँपालिकामा गठबन्धन विजयी



उदयपुर । उदयपुरको पहाडी क्षेत्रस्थित चार गाउँपालिकामा गठबन्धन दलका उम्मेदवारले विजयी हासिल गरेका छन् ।

लिम्चुङबुङ, रौतामाई, उदयपुर गढी र ताप्ली गाउँपालिकामा गठबन्धनको प्यानलै निर्वाचित भएका हुन् । लिम्चुङबुङ गाउँपालिकामा गठबन्धन दलका तर्फबाट नेकपा (माओवादी केन्द्र)का मेजरकुमार राईले एक हजार ८१८ मत प्राप्त गरी नेकपा (एमाले)का राजकुमार राईललाई ४४८ मतान्तरले पराजित गरेका छन् । यस्तै गठबन्धनका तर्फबाटै उपाध्यक्षमा नेपाली कांग्रेसका पुष्पलाल राईले एमालेको गीता कार्कीलाई एक हजार ६६० मत प्राप्त गरी विजयी हासिल गरेका हुन् ।


त्यस्तै रौतामाई गाउँपालिकामा गठबन्धनकै तर्फबाट माओवादीका वीरेन्द्र मगरले एमालेका भरतबहादुर थापालाई एक हजार ७२ मतको अन्तरले पराजित गरेका छन् । उपाध्यक्षमा गठबन्धनका उम्मेदवार भूपेन्द्रकुमार थापाले एमालेको कुमारी ठकुरीलाई ८६ मतको अन्तरले पराजित गरेको मुख्य निर्वाचन अधिकृतको कार्यलय उदयपुरले जनाएको छ ।

यस्तै उदयपुर गढी गाउँपालिकामा गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का मानबहादुर केपीछाकी मगरले एमालेका गोपाल खत्रीलाई पराजित गरेका छन् । विजयी मगरले चार हजार ९४२ मत तथा खत्रीले चार हजार ११४ मत प्राप्त प्राप्त गरेका थिए। उपाध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली काग्रेसका जीतबहादुर खड्काले एमालेको शोभा मगरलाई ८६ मतको अन्तरले पराजित गरेका छन् ।

ताप्ली गाउँपालिकामा गठबन्धनको तर्फबाट माओवादीका उम्मेदवार ढुङ्गराज विकले एमालेका बाबुराम राईलाई पराजित गरेका छन् । विकले एक हजार ७८७ मत प्राप्त गरी ३८ मतान्तरले राईलाई पराजित गरेका हुन् । यस्तै उपाध्यक्षमा गठबन्धनकै कांग्रेसकी धनमाया मगरले एमालेको मानकुमारी थापालाई दुई हजार ५८६ मत प्राप्त गरी पराजित गरेकी छन् ।