आजदेखि काँग्रेसको चुनावी सभा : केन्द्रीय नेताहरुले सम्बोधन गर्ने



काठमाडौँ । आजदेखि नेपाली काँग्रेसले देशका १० सहरमा चुनावी सभाको आयोजना गर्दैछ । एकै चरणमा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको प्रचारप्रसारका लागि ती सभा आयोजना गरिएका हुन् ।

कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयानुसार आयोजना गरिएका सभाहरुमा पार्टीका सभापति, नेता एवं पदाधिकारीलगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सबै सभाहरुको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिहरुले गर्नेछन् ।


वैशाख २१ देखि २७ गतेसम्म देशका विभिन्न जिल्लामा हुने चुनावी सभालाई प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

मुख्यसचिव पौडेलका अनुसार, वैशाख २१ गते बुधबार मोरङको विराटनगरमा हुने सभालाई सभापति देउवा, वरिष्ठ नेता पौडेल र महामन्त्री शर्मालगायतका अन्य नेताहरुले सम्बोधन गर्नेछन् ।

त्यस्तै, वैशाख २२ गते बिहीबार चितवनको भरतपुरमा हुने सभालाई सभापति देउवा, नेता पौडेल र सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले सम्बोधन गर्नेछिन् ।

वैशाख २३ गते शुक्रबार काठमाडौँमा हुने चुनावी सभालाई पनि उनीरुले सम्बोधन गर्नेछन् ।

यसैगरी, वैशाख २४ गते शनिबार रुपन्देहीको बुटवल, तनहुँको दमौली, धनुषाको जनकपुरमा चुनावी सभा हुने छन् ।

त्यस्तै, वैशाख २५ गते आइतबार कास्कीको पोखरा, दाङको तुलसीपुर र २६ सोमबार कैलालीको धनगढीमा तथा २७ गते मङ्गलबार डडेल्धुरामा चुनावी सभा हुने छन् ।