अर्धकट्टीसहितका मतपत्र भेटिएपछि धुलिखेलको मतगणना पुन: स्थगित 



काभ्रे । मतदाताले हस्ताक्षर वा औंठा छाप लगाएको अर्धकट्टीसहितको ६१ वटा मतपत्र भेटिएपछि स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत धुलिखेलको मतगणना रोकिएको छ । धुलिखेल–११ को मतगणनाका क्रममा एकै निर्वाचन चिह्नमा संकेत भएका त्यस्ता मतपत्र भेटिएपछि गणना स्थगित भएको सहायक निर्वाचन अधिकृत शेषराज दाहालले जानकारी दिए ।

उनले आफू मतगणना स्थलबाट केही समय निस्किएको र अर्धकट्टी सहितका मतपत्र भेटिएकोले छलफलका लागि रोकिएको जानकारी पाएको बताए । उनले ‘भुलवश’ पर्न गएका त्यस्ता मतपत्र अलग्गै राखेर गणना गर्न निर्वाचन निर्देशिकाले भनेको बताए । धुलिखेल–११ का दुई मतदान केन्द्रबाट २ हजार ४ सय ६८ मत खसेको थियो ।


यसअघि पनि उम्मेदवार नभएको चिह्न र अन्य चिन्ह दुवैमा संकेत भएको मत सदर वा बदर के गर्ने ? भन्ने विषयमा विवाद भएपछि मतगणना मंगलबार दिउँसोबाट रोकिएको थियो ।