अर्जुनधारा नगरपालिकामा एमालेका उम्मेदवार निर्वाचित



सुरूङ्गा । अर्जुनधारा नगरपालिकामा संयुक्त गठबन्धनलाई पछि पार्दै नेकपा (एमाले)का उम्मेदवार बलदेव सिंह गोम्देन तामाङ निर्वाचित भएका छन् । तामाङले संयुक्त गठबन्धनको उम्मेदवार नेपाली कांग्रेसकी युवा नेत्री रञ्जिता कार्कीलाई पराजित गरेका हुन् । नगरप्रमुखमा निर्वाचित तामाङले १९ हजार १६९ मत प्राप्त गरे भने कार्कीले १३ हजार ७४३ मत प्राप्त गरे ।

यता उपप्रमुख पदमा समेत एमालेबाट नै खड्गमाया पराजुली निर्वाचित भएकी छन् । उनले १७ हजार ६३७ मत प्राप्त गरिन् । संयुक्त गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का जितेश योञ्जनले नौ हजार ७१ मत प्राप्त गरे ।


विसं २०७४ मा भएको निर्वाचनमा समेत अर्जुनधारा नगरपालिकामा एमाले नै जीत हासिल गरेको थियो । प्रमुख र उपप्रमुख दुवै पद जीत हासिल गरेको एमालेले यो पटक पनि दुवै पद आफैँले सुरक्षित गरेको छ ।

११ वटा वडा रहेको यो नगरमा वडा नं १ मा उप्रेन्द्र बस्नेत, २ मा नरेन्द्रकुमार श्रेष्ठ, ३ मा सीताराम भट्टराई, ४ मा अम्बरबहादुर कटुवाल, ५ मा गीताराज खड्का, ६ मा हरिशचन्द्र वास्तोला कांग्रेसबाट निर्वाचित भएका छन् ।

त्यस्तै वडा नं ७ मा एमालेका गोविन्द प्रसाद खतिवडा, ८ मा एमाले कुमारप्रसाद उप्रेती, ९ मा कांग्रेसबाट भीष्म मिश्र, १० मा एमालेका भुपेन्द्र न्यौपाने र ११ मा एमालेबाट नै खगेन्द्र इङ्नाम निर्वाचित भएका छन् ।