अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले तिब्बती शरणार्थी शिविरको भ्रमण गरेकोप्रति ओलीकाे आपत्ति



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले तिब्बती शरणार्थी शिविरको भ्रमण गरेकोप्रति आपत्ति जनाएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै अध्यक्ष ओलीले अमेरिकी उपविदेशमन्त्री जियाको तिब्बती शरणार्थी शिविर अवलोकनप्रति आपत्ति जनाएका हुन् ।


उनले भने,‘राष्ट्रिय स्वार्थतर्फ यो सरकारलाई मतलब छैन । विदेशी कुटनीतिज्ञ, मन्त्रीलगायतको भ्रमणलाई न्यूनतम कुटनीतिक मर्यादा र अन्तराष्ट्रिय मान्यताअनुकूल बनाउन यो सरकार सक्दैन, चाहँदैन पनि । लाचार भयो यो सरकार । प्रहरीको स्कर्टिङमा अमेरिकी उपमन्त्री कहाँ–कहाँ गएको ? छिमेक सम्बन्धप्रतिको हाम्रो इमान्दारिता हुन्छ कि हुँदैन ? कुनैपनि राष्ट्रका प्रतिनिधिलाई कहाँ जान दिने/नदिने, कहाँ घुम्न दिने/नदिने, त्यो हाम्रो क्षमता छ कि छैन । हाम्रो संविधानले भनेको तटस्थता, राष्ट्रिय स्वतन्त्र परराष्ट्र नीति के यही हो ?’

अध्यक्ष ओलीले एक चीन नीतिप्रति सरकार प्रतिवद्ध नभएको बताए। उनले भने, ‘कुनै विदेशी आउँदा सरकारलाई ज्वरो आउँछ, अनि कसरी स्वधिनताको रक्षा हुन्छ?’

अमेरिकी दूतावासका उपप्रमुखसहित उपमन्त्री जियाको टोलीले गत शनिबार जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरको भ्रमण गरेको थियो। जियाको टोलीलाई प्रहरीले स्कर्टिङ गरेर शरणार्थी शिविरभित्र पुर्याएको थियो । उनले नेपालको परराष्ट्र सम्बन्ध म्यादी सरकारको निजी विषय नभएको बताए ।