अन्तर्राष्ट्रिय कारणले इन्धनको मूल्य वृद्धि भयोः मन्त्री बडू



काठमाडाैँ । सरकारले रुस र युक्रेनबीच युद्धका कारण अन्तर्राष्ट्रियस्तरमा नै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकाले आन्तरिकरुपमा पनि मूल्य बढेको स्पष्ट पारेको छ ।

नेपाल र भारतबीच भएको सम्झौताअनुसार नै सरकारी स्वामित्वको नेपाल आयल निगमले इन्धन खरिद गरिरहेको जानकारी दिँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गत आवको तुलनामा चालु आवको १० महिनामा मात्रै रु एक खर्ब बढीको आयात भएको बताए ।


प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ सभामुखसँग समय लिएर मन्त्री बडूले चालु आवको १० महिनामा दुई अर्ब ३८ करोड लिटर पेट्रोलियम पदार्थ र ६८ मेट्रिक टन खाना पकाउने ग्यास खरिद गरिएको जानकारी दिए । मन्त्रिपरिषद्को यही जेठ १० गतेको बैठकले कर समायोजन गर्ने निर्णय गरेको र सो प्रस्ताव अर्थमन्त्रालयमा विचाराधीन रहेको उनले बताए ।