हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेस विजयी



खाेटाङ । हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका विमला राई र उपप्रमुखमा सोही पार्टीका रमेश राउत विजयी भएका छन् ।

राईले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का खडेन्द्रकुमार राईलाई ३५१ मतले तथा राउतले नेकपा (माओवादी केन्द्र)का उम्मेदवार अमेम्बर राईलाई २७३ मतले पछि पार्दै प्रमुख र उपप्रमुखमा विजयी भएका हुन् ।


विमलाले छ हजार ३१७ मत ल्याएर विजयी हुँदा खडेन्द्रले पाँच हजार ९६६ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत सङ्गीता न्यौपाने (ढुङ्गेल)ले जानकारी दिइन् । उनका अनुसार उपप्रमुखमा राउतले पाँच हजार ९३४ मत ल्याएर विजयी हुँदा राईले पाँच हजार ६६१ मत ल्याएका छन् ।

दश स्थानीय तह रहेको जिल्लामा विमला नगरप्रमुखमा निर्वाचित हुने पहिलो महिला बनेकी छन् । विसं २०७४ सालको निर्वाचनमा कांग्रेसबाटै उपप्रमुखमा विजयी विमलाले यसवर्षको निर्वाचनमा एमाले र माओवादी केन्द्रको अघोषित गठबन्धनलाई पराजित गर्दै प्रमुखमा विजयी भएकी हुन् ।