काठमाडाैँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । निर्वाचनमा आएको परिणामको सम्पूर्ण जिम्मेवारी लिँदै मिश्रले पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको विज्ञप्तिमार्फत घोषणा गरेका हुन् । उनले आफू पार्टीको साधारण सदस्य भने रहिरहने बताएका छन् ।
उनले भनेका छन्, ‘ स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परिणाम आएको सर्वविदित नै छ। गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु। म पार्टीको साधारण सदस्य रहिरहने छु।’
साथै संयोजक मिलन पाण्डेलगायतका नेताहरूलाई गरिएको कारबाही फिर्ता लिन पनि मिश्रले केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितलाई अनुरोध गरेका छन्। पार्टीलाई अगाडि बढाउने विषयमा केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिले गहन छलफल र समीक्षा गरी निर्णय लिने पनि उनले अपेक्षा राखेका छन् ।
संयोजक पाण्डेसहितका नेताहरूलाई कारबाही फिर्ता लिन अनुरोध गर्दै मिश्रले भनेका छन्, ‘मैले प्रस्तुत गरेको “विचारभन्दा माथि देश” दस्ताबेज पार्टीको केन्द्रीय समितिको दुई-तिहाइभन्दा बढी मतले पारित गरेको भए पनि बहुमतको निर्णय विरुद्ध भएका गतिविधिका कारण पार्टी संयोजकलगायत कतिपयलाई कारबाही गरिएको थियो। सो दस्ताबेज प्रस्तुत गर्ने अध्यक्षले नै राजीनामा दिइसकेपछि, ती कारबाहीहरू फिर्ता गरिदिन म पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिलाई विनम्र अनुरोध गर्दछु। त्यस्तै, सो दस्ताबेजप्रति असहमति राखेर राजीनामा दिनुभएका साथीहरूलाई पनि पुनः पार्टीमा सामेल हुन आग्रह गर्दछु।’