मुलुकमा सुशासन स्थापित गर्न राप्रपाले मात्र सक्छ : राजेन्द्र लिङ्देन



पाेखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले देशमा सुशासन स्थापित गर्ने र भ्रष्टाचार निर्मूल गर्ने महाअभियान लिएर अघि बढेको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, कास्कीले पोखराको मानवअधिकार चोकमा आज आयोजना गरेको विशेष चुनावी आमसभामा अध्यक्ष लिङ्देनले अन्य पार्टीले देशलाई भ्रष्टाचारमा चुर्लुम्म डुबाएको आरोप लगाउँदै राप्रपा मात्र देशलाई बचाउने र बनाउने पार्टी भएको दाबी गरे । उनले स्थानीय तहको निर्वाचनमा राप्रपाका उम्मेदवारलाई भोट हालेर राप्रपालाई सबै नागरिकको साझा पार्टी बनाउन आग्रह गरे ।


उनले भने, “पोखरामा हामीले सोचेजस्तो मत आउन सकेको छैन, अब भ्रष्टाचारमुक्त पोखरा बनाउने जिम्मा म लिन्छु राप्रपालाई भोट हाल्नुस्, यो सुन्दर नगरी हामी अझ सुन्दर बनाउने जिम्मा हामी लिन्छौँ ।” लिङ्देनले अरू पार्टीका नेतामा दम्भ र अहम्ता हाबी हुँदै गएको र जनताप्रति उत्तरदायी हुन नसकेको जिकिर गर्दै एकचोटि राप्रपाको नेतृत्वलाई हेर्न आग्रह गरे । उलेनअबको आफ्नो जिन्दगी इमान्दारिताको राजनीति गरेर मुलुकमा सुशासन स्थापित लागिपर्ने बताए । पछिल्लो समय राप्रपाप्रति जनताको विश्वास बढ्दै गएको दाबी गर्दै उनले अब राप्रपा ठूलो पार्टी बन्ने विश्वास व्यक्त गरे ।