माडी नगरपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी



चितवन । माडी नगरपालिकाको प्रमुखमा एमालेबाट उम्मेदवार बनेकी ताराकुमारी काजी महतो विजयी भएकी छन् । महतोले नौ हजार ९०१ मत ल्याएकी छन् । माओवादी केन्द्रका ऋषि काफ्लेले सात हजार ७२९ मत प्राप्त गरेका थिए । ताराकुमारी विसं २०७४ को स्थानीय तह निर्वाचनमा चार हजार ६९० मतका साथ उपप्रमुखमा निर्वाचित भएकी थिइन् ।

उपप्रमुखमा नेपाली कांग्रेसका खेमप्रसाद महतो निर्वाचित भएका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी राप्रपाका मदनप्रसाद पौडेललाई एक हजार ६९० मतका अन्तरले निर्वाचित भएका हुन् । उनले ६ हजार ८३० मत प्राप्त गर्दा राप्रपाका पौडेलले पाँच हजार १४० मत प्राप्त गरे । उपप्रमुखमा स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद पौडेलले तीन हजार ८६ मत ल्याएका छन् । महतो यसअघिको स्थानीय तहको निर्वाचनमा माडी नगरपालिकामा प्रमुख पदमा झिनो मतले पराजित भएका थिए ।


एमालेले सो पालिकामा एक वडाध्यक्षसहित प्रमुख र कांग्रेसले उपप्रमुख मात्र जित्न सफल भएको छ । वडाहरुमा माओवादी केन्द्रले चारवटा, नेकपा समाजवादीले दुईवटा र राप्रपाले दुई वटामा विजयी हासिल गरेका छन् । माडीमा २० हजार ४९६ मत खसेको थियो ।