पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउनुपर्छ : गगन थापा



काठमाडाैँ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अर्थतन्त्र समस्यामा पर्न थालेको उल्लेख गर्दै व्यापार घाटा बढेकाले समस्या समाधानका लागि अग्रसर हुनुपर्ने बताएका छन् ।

शनिबार प्रतिनिधि सभा बैठकको नीति तथा कार्यक्रममको छलफलमा बोल्दै उनले पेट्रोलियम पदार्थ सबभन्दा धेरै आयात हुने र त्यसको असर नेपालको अर्थतन्त्रमा परिरहेको बताए । 


‘पेट्रोलियम पदार्थ करिब १५ प्रतिशतभन्दा बढी आयातको हिस्सा भएको ठाउँमा र अन्तर्राष्ट्रिय बजार, त्यसको मूल्य, खुला सीमाना, हामीले चाहेर पनि त्यसको मूल्य केही गर्न नसकिने, यस्तो अवस्थामा हामीले पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउने महत्वाकांक्षी सोच राख्नै पर्छ,’ उनले भने, ‘सरकारको नीति कार्यक्रममा परेको छ। तर यो सबै एक ठाउँमा राखेर प्रत्येक दिन, प्रत्येक घण्टा हाम्रो पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउने कुरा आजको सबैभन्दा ठूलो प्राथमिकता हुनुपर्छ। यो हाम्रो राष्ट्रिय सुरक्षासँग जोडिएको विषय पनि हो ।’ 

त्यस्तै, नेपालमा सामानहरू आयात हुने क्रम हरेक वर्ष बढ्दै गएको पनि उनले बताए । जसकारण व्यापार घाटा पनि बढिरहेको उनले बताए । 

‘हाम्रो आम्दानीको स्रोत सीमित छ। रेमिटेन्सबाट पैसा आउँछ, थोरैमात्रै वैदेशिक लगानी आएको छ, थोरैमात्र अनुदान आएको छ। हाम्रो खर्च यसरी नै हुँदै गयो भने यसको लागि कुनै रकेट साइन्स चाहिँदैन। हामीले सामान्य ढंगले घर चलाएको हेर्‍यौं भने पनि आम्दानी थोरै खर्च धेरै भयो भने हामीले थेग्न सक्दैनौं,’ उनले भने। 

कतिपय देशलाई व्यापार घाटा ठूलो विषय नभए पनि नेपालको परिस्थिति अनुसार चिन्ताको विषय भएको उनले बताए। 

‘नेपालको जुन खालको आर्थिक परिस्थिति छ हाम्रो लागि व्यापार घाटा सबैभन्दा ठूलो चिन्ताको विषय हो,’ उनले भने, ‘११ गुणा बढीले सामान आयात गरिरहेको अवस्था छ। यसको सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थको छ।’

उनले हेलिकप्टर, मरिच, केराऊ, कुनै पनि सामान आयात नगर्नेतर्फ सरकार लाग्नुपर्ने स्पष्ट पारे । आयात रोकेर मात्रै नहुने भएकाले निर्यात बढाउनेतर्फ पनि ध्यान दिनुपर्ने सांसद थापाको भनाइ छ ।