निर्वाचनमा गरेका वाचा पूरा नगर्नेलाई जनताले सजाय दिन्छन् : महामन्त्री थापा



काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विगतका निर्वाचनको समयमा गरेका वाचालाई पूरा नगर्नेलाई जनताले भोट नदिएर सजाय दिने बताएका छन् ।

स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेस काठमाडौँ महानगर समितिले आज यहाँ आयोजना गरेको ‘चुनावी सभा’लाई सम्बोधन गर्दै उनले जनप्रतिनिधिले अघिल्लो निर्वाचनमा गरेका वाचा पूरा ग¥यो कि गरेन भनेर जनताले हेर्ने बेला आएको बताए । “अघिल्लो स्थानीय तहको निर्वाचनमा गरेका वाचा र प्रतिबद्धता पूरा भयो कि भएन त्यसलाई हेरेर यो निर्वाचनमा जनताले आफ्नो अधिकारको प्रयोग गर्नेछन्”, उनले भने ।


महामन्त्री थापाले विगतको स्थानीय तहको निर्वाचनमा जनताले काठमाडौँको प्रमुखमा एमालेका जनप्रतिनिधिलाई निर्वाचित गरे पनि समृद्ध महानगर निर्माण गर्ने कामलाई अगाडि बढाउन नसकेको गुनासो गरे । उनले युवालाई सँगसँगै लिएर अगाडि बढे मात्र समृद्ध महानगर निर्माण हुने भन्दै कांग्रेसले काठमाडौँ महानगरको प्रमुख जितेमा युवालाई साथ र सहयोग लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।