दोलखाको विगु गाउँपालिका प्रमुखमा माओवादी र उपप्रमुखमा एमाले विजयी



चरिकाेट । दोलखाको विगु गाउँपालिका प्रमुखमा नेकपा माओवादी र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । गाउँपालिका प्रमुखमा गठबन्धनका तर्फबाट माओवादीका सञ्जीव ओली र उपप्रमुखमा एमालेका देविका थामी निर्वाचित भएका हुन् ।

पालिका प्रमुखमा चार हजार १०० मत प्राप्त गरी ओली निर्वाचित भएका हुन् । प्रमुखमा एमालेका उम्मेदवार अच्छुतम केशीले तीन हजार ९७३ मत प्राप्त गरेका छन् ।


गठबन्धनको तर्फबाट गाउँपालिका उपप्रमुखका उम्मेदवार बनेकी नेपाली कांग्रेसका आङनिमा शेर्पालाई पराजित गर्दै एमालेका थामी उपप्रखुममा निर्वाचित भएकी हुन् । थामीले चार हजार १३ मत प्राप्त गरेकी छन् भने प्रतिस्पर्धी शेर्पाले तीन हजार ८२६ मत प्राप्त गरेकी छन् ।

आठ वडा रहेको विगु गाउँपालिकामा एमालेले तीन, माओवादी र कांग्रेसले दुई दुई र एक वडामा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।