गठबन्धनले देशलाई दुर्घटनाबाट बचाएकै हो : प्रचण्ड



धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले देशलाई दुर्घटनाबाट बचाएको दाबी गरेका छन् । धनगढीमा सत्ता गठबन्धनले सोमबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले गठबन्धनले देशलाई दुर्घटनाबाट बचाएको बताएका हुन् ।

‘कसैले भ्रममा नपरे हुन्छ, गठबन्धनले देशलाई दुर्घटनाबाट बचाएकै हो । भोलिका दिनमा पनि देशमा हुनसक्ने राजनीतिक दुर्घटनाबाट बचाउने प्रतिवद्धता गरेको छ ।’ उनले शेरबहादुर देउवा, आफू र माधव नेपालको बीचमा असमझदारी बनाउकान लागि निकै ठुलो कसरत भइरहेको पनि बताए ।


दृढताको साथ गठबन्धनको पक्षमा लागेको भन्दै उनले काँग्रेस सभापति देउवालाई धन्यवाद दिए । उनले छोरीलाई जिताइएन भने देश दुर्घटनामा पर्छ भनेर आफूले कतै पनि टिप्पणी नगरेको दाबी गरे । आफूले देशको स्थायित्वका लागि यस्तो भन्दा एकथरिले यस्तो गलत हल्ला फैलाएको उनको भनाई थियो । उनले भने,‘मैले कहीँ पनि छोरीलाई जिताएन भने देश दुर्घटना हुन्छ भनेर चेतावनी दिएको छैन । तर एकाथरीले गलत हल्ला फैलाए। मैले गठबन्धनले निर्वाचन नजित्दा गलत व्यक्तिहरुले जित हात पार्ने र यसले देश दुर्घटनामा पर्ने भनेको हो।’

गठबन्धनले वैशाख २२ गते चितवनमा आयोजना गरेको सभामा छोरी रेनु दाहालका लागि भोट माग्दै मत नदिए देश दुर्घटनामा पर्छ भनेका थिए।