औरहीका मतदाता भन्छन्, ‘दुःखकष्ट बुझ्ने विकासप्रेमीलाई मात्र मत दिन्छौँ’



जनकपुर । आसन्न स्थानीय तहको निर्वाचनमा आफूहरुले दुःखकष्ट बुझ्ने र विकासप्रेमी उम्मेदवारलाई मत दिने धनुषाको औरही गाउँपालिकाका मतदाताले बताएका छन् ।

निर्वाचनका लागि मत माग्न यतिबेला विभिन्न दलका उम्मेदवार मतदाताको घरघरमा व्यस्त छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी)लगायत पार्टीका उम्मेदवार जसरी पनि आफ्नो जीत सुनिश्चित गर्न घरदैलो अभियानमा छन् । धनुषाको शहरी तथा ग्रामीण क्षेत्रका चिया पसल, चौतारा, पान पसललगायत सार्वजनिक ठाँउमा चुनावी चर्चाले तीव्रता पाएको छ ।


राजनीतिमा लामो समय योगदान गरेकादेखि युवापुस्ताका उम्मेदवार जनताको घरघरमा पुगेर मत माग्न पुग्दा मतदाताले भने गाउँमा बाटोघाटो, स्वास्थ्य र शिक्षा क्षेत्रको विकास गर्ने र समाजमा योगदान पु¥याउँदै आएकालाई यस वर्ष मत दिने बताउन थालेका छन् । धनुषाको औरही गाउँपालिका मतदाता सीमित स्वार्थका लागि उम्मेदवार बनेकोभन्दा राजनीतिमा सक्रिय रहेर समाजका लागि योगदान गरेका उम्मेदवार आफ्नो रोजाइमा पर्ने बताउँछन् ।

विकास र समृद्धिमा पछि परेको धनुषाको औरहीका मतदाता अब विकास र समृद्धि चाहेकाले यसलाई मूर्तरुप दिनसक्ने सक्षम व्यक्तिलाई जिताउने स्थानीय मतदाताको भनाइ छ । कुन उम्मेदवारलाई जिताउने भनेर मतदाताले गम्भीर भएर सोच्नुपर्ने औरही गाउँपालिकाका–५ का जगदीश साह बताउछन् । “विकास प्रेमी नेतालाई जिताउनुर्छ”, उनले भने, “तब मात्र गाउँमा विकास र सुशासन कायम हुन्छ ।” मत लिने बेला ठूलाठूला प्रतिबद्धता गर्ने र जितेर गएपछि ती सबै प्रतिबद्धता बिर्सिनेबाट सचेत हुनुपर्ने उनको भनाइ छ ।

औरही गाउँपालिकाका मखन सदा यसपाली सचेत मतदान गर्ने बताउछन् । गाउँको विकास गर्न सक्षम उम्मेदवारलाई जिताउने उनको मनसाय छ । “राजनीतिक आस्थाको भरमा मात्र नभएर गाउँको विकास गर्ने व्यक्ति हामीले छान्छौँ”, औरही गाउँपालिका–३ का सरोज साहले भने, “व्यक्तिगत स्वार्थका लागि उम्मेदवार बनेकाले जनताको सपना पूरा गर्न सक्दैनन्, समाजसेवा गर्न सक्नेलाई मत दिन्छु ।” गाउँमै दुःखकष्ट गरेका र गरिब किसानका मर्का बुझ्ने उम्मदवार आफूहरुको रोजाइमा पर्ने साहले बताए ।

अठार स्थानीय तह रहेको धनुषामा चार लाख ६७ हजार ३८८ मतदाता छन् । निर्वाचनमा भाग लिन धनुषामा ३२ राजनीतिक दल निर्वाचन कार्यालयमा दर्ता छन् ।