काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकोटाले संसदीय मूल्य तथा मान्यताभन्दा बाहिर गएर बोलिएका अमर्यादित शब्द हटाउन सचिवालयलाई निर्देशन दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सार्वजनिक विषयमा जानकारी गराउने क्रममा अमर्यादि शब्द परेको भन्दै प्रमुख विपक्षी दल नेकपा (एमाले)का सांसदले आपत्ति जनाएका थिए ।
बिहीबार ओलीले ३ घण्टा लगाएर दिएको मन्तव्यमा सरकारको ठूलो आलोचना गरेका थिए । त्यसको जवाफ दिँदै मन्त्री बडुले ओलीको आलोचना गरेपछि एमाले सांसदहरुले उनको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै संसदमा अवरोध गरेका थिए । १५ मिनेटका लागि भनेर रोकिएको संसद बैठक २ घण्टापछि सुरु भएको छ ।
सभामुख सापकोटाले संसदीय मूल्य तथा मान्यताभन्दा बाहिर गएर प्रस्तुत गरिएको शब्द हटाउन निर्देशन दिएपछि प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको हाे ।