हात नभएको योसिँद्योः उठाइयो



भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्का जात्राको चौथो दिन आज बिहान तालाक्वस्थित कुम्हाले टोलमा ‘ल्हा मरुम्ह योसिँद्योः (हात नभएको लिङ्गो) ठड्याइएको छ ।

जात्राको चौथो दिन आज साँझ यसिँख्यमा ५५ हात लामो यसिँद्योः ठड्याइन्छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाउने उक्त योसिँद्योःकोे टुप्पोमा प्रसादका रूपमा हरियो घाँस र फूल राखिएको हुन्छ । प्रत्येक वर्ष चैत मसान्तका दिन योसिँद्योः ठड्याउने र वैशाख ५ गतेका दिन सो ढालेपछि नौ दिन आठ रात लामो बिस्का जात्रा सम्पन्न हुने परम्परा छ । त्यसैगरी यसिँख्यमा ५५ हात लामो योसिँद्योः ठड्याएर जात्रा मनाइँदैछ ।


भक्तपुरको बिस्का जात्राको अर्को आकर्षण योसिँद्योः ठड्याउनु हो । यो योसिँद्योःलाई वैशाख १ गते साँझ तान्त्रिक विधिपूर्वक पूजा गरी ढाल्ने परम्परा छ । जात्राका लागि सम्पूर्ण तयारी पूरा भएको गुठी संस्थान कार्यालय भक्तपुरले जनाएको छ । योसिँद्योः ठड्याउनका लागि आवश्यक डोरी, कैचीसमेत तयारी अवस्थामा राखेको गुठीले जनाएको छ । भैरवनाथको प्रतीक मानिने योसिँद्योःको शीर्षभाग र हातहरू नीलो कपडाले बेरिएको हुन्छ ।

योसिँद्योःको कोखामा झुण्ड्याइएका दुई ध्वजालाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । एकजोडी ध्वजा फुकाएपछि एउटा संवत् फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता छ । योसिँद्योः उभ्याउन बाँधिएका आठ डोरीलाई अष्ट मात्रिकाको प्रतीक मानिन्छ । जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन छ ।

यो जात्रा अगाडि लिङ्गो भैरवनाथ र भद्रकालीको रथलाई गःहिटीबाट तानेर यसिँख्य पु¥याउनुपर्ने परम्परा छ । योसिँद्योः उभ्याइसकेपछि मध्यरातमा दर्शनका लागि नवदुर्गा देवगण आउने परम्परा छ । लिङ्गो जात्रा हेर्नाले सुख, शान्ति, समृद्घि, सहकाल आउनाका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ ।