सुनकोसी नदीमा पौडी खेल्न गएका एक जनाको डुबेर मृत्यु



सिन्धुपाल्चाेक । सुनकोसी नदीमा पौडी खेल्न गएका एक जनाको डुबेर मृत्यु भएको छ । चौतारा साँगाचोकगढी नपा–९ सुकुटे नजिक रहेको बालुवा भन्ने ठाउँको सुनकोशीमा पौडी खेल्न गएका २२ वर्षीय रञ्जन श्रेष्ठको डुबेर मृत्यु भएको हो ।

आज दिउँसो २ बजे दोलखा शैलुङ गाउँपालिका–७ मञ्जित बस्ने, शिवहरि श्रेष्ठका छोरा डुबेर बेपत्ता भएका थिए । ५ बजे डुबेकै स्थानबाट निजको शव फेला परेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।


यस्तै बिहान ७ बजेको समयमा मेलम्ची नगरपालिका–५ सिन्धुकोट भदौरे बस्ने ३९ वर्षीय श्याम मिजारले धारिलो हतियार प्रयोग गरी आफ्नै घाँटी काटेका छन् । मिजारलाई हँसियाको प्रयोग गरी आफ्नै घाँटी काटी छट्पटाइरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । उनलाई तत्कालै उपचारका लागि अस्पतालतर्फ पठाइएको र हाल गम्भीर घाइते भएका मिजारको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज (टिचिङ अस्पताल)मा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको बस्नेतले जानकारी दिए ।