सीमा समस्याको द्विपक्षीय संयन्त्रहरुमार्फत समाधान खोजौं : प्रधानमन्त्री देउवा



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको प्रगतिबाट नेपालले पनि फाइदा लिन चाहेको बताएका छन् । शनिबार नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले हासिल गरेको आर्थिक प्रगतिको प्रशंसा गर्दै नेपालले पनि आर्थिक साझेदारीमार्फत त्यसबाट फाइदा लिन चाहेको बताएका हुन् ।

उनले मोदीको नेपाल भ्रमणले दुई देशको मित्रतालाई प्रगाढ बनाउन सहयोग गरेको उल्लेख गरे । प्रधानमन्त्रीका रूपमा पाँचौँ पटक भारत आउन पाउँदा उत्साहित भएको प्रधानमन्त्रीको भनाइ थियो ।


कोभिड महामारीसँग लड्नका लागि भारतले गरेको खोप लगायत स्वास्थ्य सामग्री सहयोग गरेकोमा पनि देउवाले धन्यवाद ज्ञापन गरे । प्रधानमन्त्रीले भारतसमक्ष थप तीन वटा हवाई रुट उपलब्ध गराउन माग गरेका छन् । उनले भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विषयमा कुराकानी भएको बताए ।

मोदीसँगको वार्तामा भएको कुराकानीबारे प्रधानमन्त्री देउवाले भने, ‘हामीले नागरिक उड्डयनको विषयमा पनि छलफल गरेका छौं । महेन्द्रनगर, नेपालगन्ज र जनकपुरबाट माग गरेका छौं ।’

त्यस्तै प्रधानमन्त्री देउवाले सीमा समस्या द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न आफूले प्रस्ताव गरेको जानकारी दिए । उनले भने, ‘हामीले सीमा समस्याबारे छलफल गरेका छौं र मैले यसलाई द्विपक्षीय संयन्त्रहरुमार्फत समाधान गर्न प्रस्ताव गरेको छु ।’